काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ ।
सो मन्त्रालयलाई अर्थमन्त्री वर्षमान पुनले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएका हुन् । चालू आर्थिक वर्षका लागि यो मन्त्रालयलाई १ खर्ब ९९ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । यो मन्त्रालयकी विभागीय मन्त्री रास्वपाकी सांसद् सुमना श्रेष्ठ हुन् ।
सबैभन्दा बढी बजेट प्राप्त गर्ने मन्त्रालयको सूचीको दोस्रो नम्बरमा गृह मन्त्रालय छ । सो मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा यो मन्त्रालयका लागि १ खर्ब ९४ अर्ब १६ करोड शुरू बजेट विनियोजन गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रास्वपा सभापति रवि लामिछाने हुन् ।
तेस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन अनुमान गरिएको छ । चालू आर्थिक वर्षका लागि मन्त्रालयले १ खर्ब ३१ अर्ब रुपैयाँ बजेट पाएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ५७ अर्ब २९ करोड, वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड र ऊर्जा मन्त्रालयलाई ८७ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ११ अर्ब ९१ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ भने उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।