त्रिवि उत्तरपुस्तिका प्रकरण: परीक्षा नियन्त्रक जोशीसहित ७ जनालाई कारबाही गर्ने अन्तिम तयारी

18.4k Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित ७ जनालाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ। त्रिविका पूर्वरजिस्टार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा कारबाही गर्ने तयारी गरेको हो।

कार्यकारी परिषद्को गएको चैत १५ गते बसेको बैठकले त्रिविका पूर्वरजिस्टार प्राडा पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

उपकुलपति प्राडा बराललाई बुझाएको प्रतिवेदन हालसम्म गोप्य छ। सोही प्रतिवेदन अध्ययन गरेपछि त्रिविका पदाधिकारी कारबाही गर्ने तयारीमा पुगेका हुन्।

कारबाही प्रक्रिया शुरू गर्नुअघि कारबाहीको सिफारिस गरेका परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रकद्वय सुरेशजंग शाही र पवन बराल, शाखा अधिकृत शम्भु दाहाल, नायबसुब्बा एवं गोप्य शाखा प्रमुख दीपक पाण्डे, कर्मचारीद्वय नारायणप्रसाद न्यौपाने र चन्द्रप्रसाद जोशीलाई कारबाही गर्ने तयारी गरेको हो। तर, के कारबाही गर्ने भन्ने विषय टुंगिएको छैन। समितिले हिजो आइतबार सबैलाई स्पष्टीकरण सोध्न रजिस्टार कार्यालयमा बोलाएको थियो।

स्रोतका अनुसार प्रतिवेदनमा परीक्षा नियन्त्रक जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र पर्याय आधारसहित नियमको परिच्छेद ५७ को व्यवस्था बमोजिम पदबाट बर्खास्तसम्मको कारबाही सिफारिस गरेको छ।

सहपरीक्षा नियन्त्रक शाही र बराल, गोप्य शाखा प्रमुख पाण्डे र दाहाल, कर्मचारी न्यौपाने र जोशीलाई त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम परिच्छेद १० को नियम ८२ बमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ। सहायक प्रशासक भोजराज भट्ट, उप–प्रशासक निलम पोखरेललाई समितिले नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न त्रिविलाई पत्र पठाएको छ। आजको नेपाल समाचारपात्र दैनिकबाट 

सम्बन्धित समाचार