सर्लाहीका बलरा नाकाबाट तस्करी

22k Shares

मलंगवा । सर्लाहीका केही नाकाहरूबाट केही दिन यता तस्करी धन्दा फेरि मौलाएको छ । सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट परिचालित घुमुवा र सीमावर्ती क्षेत्रका केही थाना चौकीका प्रमुखलाई मिलाएर तस्करी धन्दा शुरू भएको हो ।
सर्लाहीको गोरखकाली, त्रिभुवननगर र भारसहबाट अहिले व्यापक तस्करी चलिरहेको छ । बाराउद्दरण, भार्सर, गोरखकाली, त्रिभुवननगर र भारसहबाट तस्करी गर्ने तस्करहरूले सीमावर्ती थाना चौकी मिलाएर ल्याएको तस्करी सामान महेन्द्र राजमार्ग पुर्याउने र गन्तव्यमा लैजाने कार्य गरिरहेका छन् । यसको लागि अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पका असईलाई सेटिङ मिलाएर गन्तव्यमा पठाउने गरेका छन् । 
भारतबाट नेपाल र नेपालबाट भारततिर हुने तस्करीमा झन् वृद्धि भएको छ । कपडा, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी–राँगा, विस्फोटक पदार्थ पटाका लगायतका विभिन्न सामानहरु भारतबाट तस्करीको माध्यमबाट नेपालमा भित्रिने गरेको पाइएको छ । यसैगरी नेपालबाट सुकुमेल, कालो मरिच, सेतो केराउ, मदिरा रक्सी, छहोरा, डिजेल, पेट्रोल, गिटी–बालुवा तथा काठ लगायतका सामानहरु भारततर्फ तस्करीको माध्यमबाट जाने गरेको पाइएको छ ।
बलरा नाकाबाट तस्करहरू श्याम साह कपडा, प्रभान्स कपडा, राजेश कपडा, अरुण सिंह माछा, फौजी सिहं  माछा, नवीन चौधरी  कपडा , मुना महतो, नागेन्द्र महतो गिट्टी बालुवा, मुना, राजु सिहं, राजन सिहं  दारू रक्सी सिल पैक र रोसन महतो धान लाइन पाएका छन् । बलरामा नेपाल प्रहरीको तर्फबाट सई शम्भु पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट एसपीको घुमुवाको रूपमा असई तेज नारायण यादव खटिएका छन् । यिनीहरूको सेटिङ र संरक्षणमा बलरा नाकाबाट व्यापक तस्करी भैरहेको छ । नवीन चौधरीले चाइनिज स्याउ र कवाडीको काम यही नाकाबाट व्यापक मात्रामा तस्करी गरेर भारत पठाउंदै आएका छन् । तस्करी चलाएको बारेमा हाम्रो स्थानीय संवाददाता मुर्तुजा मियाले जिज्ञासा राख्दा उनले आंफुले कसैलाई तस्करीको लाइन नदिएको बताए ।   भारतमा निर्वाचन हुन लागेकाले अहिले रातिदेखि ७२ घण्टा नाका बन्द गरिएको मात्रै हो ।

सम्बन्धित समाचार