पोखरा । वैदेशिक रोजगारीका क्रममा यस वर्ष कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, १५ जना अंगभंग तथा बिरामी परे ।
वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रहरूको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको नौ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका हुन् । यसैगरी, १५ जना अंगभंग तथा बिरामी परेका हुन् । उनीहरू सबै पुरुष हुन् ।
प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका क्रममा गण्डकीका ११ मध्ये नवलपुरका सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । दोस्रो बागलुङ हो भने कास्की तेस्रोमा पर्छ ।
गत आव २०७९–८० मा मुलुकभरबाट विदेश गएकामध्ये १ हजार २ सय ८ जनाको मृत्यु भएको थियो । त्यसबेला ३ सय ३५ जना अंगभंग भएका थिए ।
गत आव २०७९–८० मा ७ लाख ७१ हजारले श्रम स्वीकृति लिएका थिए । चालू आवको चैतसम्म गण्डकीबाट १ लाख ६ हजार ४४ जना वैदेशिक रोजगारीका लागि गएका छन् । तीमध्ये महिला १० हजार ७ सय २ जना छन् । यस अवधिमा कास्कीका १२ हजार ३ सय ३४ जना वैदेशिक रोजगारीमा गए । तीमध्ये १ हजार ६ सय ९२ महिला हुन् । गण्डकीबाट वैदेशिक रोजगारीमा जाने महिलामा कास्कीका सबैभन्दा बढी छन् ।
गण्डकीबाट वैदेशिक रोजगारीमा सबैभन्दा बढी जाने जिल्ला तनहुँ हो । तनहुँबाट यसपालि १६ हजार ७ सय ९७ जना वैदेशिक रोजगारीमा गएकामा महिलाको संख्या १ हजार ५ सय १९ छ । त्यसपछि स्याङ्जाका १५ हजार ८ सय ९६ जना गएकामा महिला १ हजार ४ सय ५ जना छन् ।
तेस्रोमा बागलुङ पर्छ । बागलुङबाट यसपालि वैदेशिक रोजगारीका लागि १३ हजार ७ सय ९७ जना विदेश गएकामा महिला १ हजार १ सय ४ जना छन् । प्रदेशका ११ जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने कास्की चौथोमा पर्छ । सबैभन्दा कम मनाङबाट २ सय २४ जना वैदेशिक रोजगारीमा गएका छन् । आजको राजधानी दैनिकबाट