रविको ठगी प्रकरणमा संसदमा प्रस्तुत हुने विषयमा फरक धारणामा रहेका नेता कोइराला र थापाबीच कुराकानी

14.2k Shares

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा‍. शेखर कोइरालाबीच भेटघाट भएको छ। विशालनगरस्थित कोइराला निवासमा भएको भेटमा पार्टीले गर्दै आएको संसद अवरोध र समसामयिक राजनीतिबारे छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा कांग्रेससँग गरेको छलफलपछि थापा र कोइरालाबीच भेटघाट भएको हो। प्रधानमन्त्रीले कांग्रेससँग वालुवाटारमा गरेको छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला लगायत सहभागी भएका थिए। डा. कोइराला वालुवाटारमा गएका थिएनन्।

बालुवाटार छलफलबारे थापाले कोइरालालाई जानकारी गराएका छन्। नेपाली कांग्रेसको पछिल्लो पटक बसेको संसदीय दलको बैठकमा थापा र कोइरालाबीच सदनमा प्रस्तुत हुने सन्दर्भमा मत बाझिएको थियो। महामन्त्री थापा संसद बैठकमा कडा रुपमा प्रस्तुत हुनुपर्ने अडान राखेका थिए भने कोइराला नरम रुपमा जानुपर्ने पक्षमा थिए।

शुक्रबार संसद बैठक सुुरु हुनुअघि बनेको दलको बैठकमा कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने धारणा राखेका थिए भने थापाले कांग्रेसले देखाउनुपर्ने लचकता देखाइ सकेकाले कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएका थिए। दुई नेताबीच केही समययता रोकिएको संवाद रोकिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दै प्रतिपक्षी कांग्रेसले सदनको बजेट अधिवेशन सुरु भएकै दिनदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठक चल्न दिएको छैन।

सदन चलाउने उपाय खोज्दै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी कांग्रेस र अन्य दलहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् भने सर्वदलीय बैठकको पनि तयारीमा छन्। यस्तै सभामुख देवराज घिमिरेले पनि दलका सचेतक र प्रतिनिधिसँग छलफल गरेर सदन चलाउन खोजिरहेका छन्। आइतबार प्रधानमन्त्रीले कांग्रेससँग गरेको छलफल सकरात्मक भएको विवरणहरु सार्वजनिक भएका छन्।

सम्बन्धित समाचार