काठमाडौंमा नै सार्वजनिक जग्गा अतिक्रमण गर्ने परिवार ३ हजार

14.8k Shares

काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा नै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने परिवारको संख्या ३ हजार बढी रहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अध्ययन अनुसन्धानका आधारमा काठमाडौं जिल्लामा ३ हजार घरपरिवारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आइरहेको पाइएको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययन अनुसन्धानले काठमाडौंमा मात्रै सरकारी जग्गा अतिक्रमणमा ३ हजार घरपरिवार संलग्न रहेको देखाएको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययनले काठमाडौं जिल्लामा मात्रै ३ हजार घरपरिवार सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको देखाएको छ, जसमा २२ सय परिवार काठमाडांै महानगरपालिकाभित्रै छन्।’

ती ३ हजार परिवारले काठमाडौंमा २०३८ सालदेखि नै सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आइरहेकाले उनीहरूलाई हटाउन निकै चुनौती रहेको बताइएको छ। विशेष गरी उनीहरूलाई विभिन्न राजनीतिक दलले लामो समयदेखि संरक्षण गर्दै आइरहेको र दलहरूको भोट बैंकका रूपमा रहेकाले पनि राजनीतिक दलहरू उनीहरूलाई हटाउने पक्षमा रहेका छैनन्।

वर्षौंदेखि बसोबास गर्दै आएकाले उनीहरूलाई विकल्प दिएर मात्रै हटाउनुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । ४२ वर्षदेखि लगातार बस्दै आएकाले उनीहरूले सो जग्गालाई आफ्नै पैतृक थलोको रूपमा लिँदै आएका छन्। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार