काठमाडौं । सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रूपमा देखिएको खटपटले गठबन्धनका शीर्ष नेताहरूमा छटपटी चलेको छ।
आन्तरिक खटपट व्यवस्थापन गर्ने कुरामा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका हुन्।
सोही विषयलाई लिए र दुई नेताबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई घण्टाभन्दा बढी छलफल भएको थियो। बिहान ११ः४० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिनुभएको थियो। भेटवार्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो।
प्रचण्ड–ओलीले फागुन २१ मा नयाँ सत्ता समीकरण गरेपश्चात् विश्वासको मत पुर्याउनका लागि पटकपटक घर पुगेर सत्ता सहकार्यमा जोडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति चरम असन्तुष्टि पोख्दै आउनुभएको छ।
शीर्ष दुई नेताको बिहीबारको भेटमा गठबन्धनमा माधव नेपालको असन्तुष्टि, प्रदेश सरकार गठन र विश्वासको मत प्राप्तिमा देखिएका समस्या, उपनिर्वाचनको समीक्षा र बजेट अधिवेशनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
एकीकृत समाजवादीका नेताहरूले आलोपालोमा प्रधानमन्त्री लेनदेनको सहमति भएको बताएपछि ओलीले संसद्मै खण्डन गरेको विषयलाई पनि नेकपा एसका नेताहरूले राजनीति ‘कोर्स करेक्सन’को एजेन्डा बनाउन खोजेका छन्। आजको नेपाल समाचारपत्र दैनिकबाट