काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्प’बारे छलफल थालेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।
गत २१ फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसअघि एमालेसँग मिलेर प्रधानमन्त्री बनेका ३२ सिटे माओवादी अध्यक्ष प्रचण्ड एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्न पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले गठबन्धन हेराफेरी गर्न थालेपछि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।
कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थाले पनि कुनै ठोस निष्कर्ष आउन भने सकेको छैन । स्रोतका अनुसार कांग्रेस र एमाले नेताहरूबीच प्रचण्ड नेतृत्वको सरकारको विकल्प’बारे छलफल भएको छ । कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीबीच यस विषयमा केही दिनअघि छलफल भएको बताइएको छ । छलफललाई निरन्तरता दिनेमा दुवै दलका नेताहरू सहमत भएका छन् ।
चार नेताबीच छलफलपश्चात् उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत यस विषयमा छलफल गरेका थिए । तर, ओली भने अहिले नै प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने समय नभएको बताउँदै अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएका छन् ।
तेस्रो ठूलो दल माओवादी केन्द्रलाई बोक्नुभन्दा दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा स्थायित्व हुने’boutमा नेताहरूबीच सकारात्मक छलफल भएको स्रोतको दाबी छ । कांग्रेसको सो प्रस्ताव एमाले अध्यक्ष ओलीले तत्काल स्वीकार नगरे पनि कांग्रेसलाई टाढा पनि जान नदिने रणनीति लिएका छन् । संघीय र प्रदेश सरकारको घटनाक्रमलाई लिएर आगामी दिनमा एमालेले केही निर्णय लिनसक्ने दाबी स्रोतको छ । आजको राजधानी दैनिकबाट