कस्तो छ नेपाल र कतारबीच सम्बन्ध ?

18k Shares

काठमाडौं । कतारका राष्ट्रप्रमुखसमेत रहेका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् । अमिर नेपाल भ्रमणमा आउँदा नेपाल सरकारले देशभरि सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारी राजाको सम्मानमा सार्वजनिक बिदा दिएको हो । यस्तै, अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमिर अल थानीलाई अपराह्न ५ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।

अमिरले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नेछन् भने उनको सम्मानमा राजकीय भोजको आयोजना गरिने भएको छ । बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

खाडी मुलुकबाटै पहिलोपटक राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको देश कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको छ । नेपाल र कतारबीच श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायतका विषय उच्च प्राथमिकतामा राखिएको बताइएको छ । पहिलोपटक नेपाल आउन लागेका अमिरले दुईवटा निजी विमान लिएर काठमाडौंमा अवतरण गर्नेछन् ।

यस्तै, कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले अमिरलाई स्वागत गर्न पाउँदा नेपाली जनता उत्साहित भएको बताएका छन् । यो भ्रमणले दुई देशबीच कूटनीतिक र व्यापारिक सम्बन्ध मजबुत बनाउन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको बताए ।

नेपाल र कतारबाट दैत्य सम्बन्ध स्थापित भएको ४७ वर्ष पूरा भएको छ । यी दुई मुलुकबीच २१ जनवरी १९७७ देखि कूटनीतिक सम्बन्ध कायम भएको हो । कूटनीतिक सम्बन्ध कायम भएको झन्डै २७ वर्षपछि मात्र सन् २००४ मा कतारमा नेपाली दूतावास स्थापना भएको हो भने त्यसको झन्डै आठ वर्षपछि ११ जुलाई २०११ बाट नेपालमा कतारले दूतावास स्थापना गरेको थियो । त्यसयता कतार नेपालको असल मित्र देशका रूपमा परिचित हुँदै आएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार