काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा वाणिज्य बैंकहरूले ४८ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०७९/८०को फागुन मसान्तसम्मको तुलनामा चालु अर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा घटेको हो ।
गत वर्षको फागुनसम्म २१ वाणिज्य बैंकले ४८ अर्ब ८३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यो वर्ष नाफा घट्नुमा अर्थतन्त्रमा आएको मन्दीका सार्थ खराब कर्जा बढ्नुलाई लिइएको छ । यसको असर आगामी दिनमा पनि पर्ने बैंकरहरू बताउँछन् ।
त्यस्तै, अहिले २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । सन्राइज बैंक लक्ष्मीसँग समाहित हुँदा पनि त्यसको असर अहिलेको नाफामा देखिएको छ । लक्ष्मी र सन्राइज बैंक मर्जरमा गएपछि अहिले लक्ष्मी सन्राइज बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ ।
गत फागुन मसान्तसम्म लक्ष्मी बैंकले एक अर्ब ३६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, सन्राइज बैंकले एक अर्ब आठ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो वर्ष मर्जरमा गएपछि यी दुई बैंक मिलेर बनेको लक्ष्मी सनराइज बैंकले एक अर्ब ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।