झापा ट्राफिकको असुली धन्दा

23.2k Shares

झापा । चेकजाँचको बहानामा ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको सबारी चालकले बताउने गरेका छन । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ । उनीहरुले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको चालकहरू बताउँछन् । ट्राफिक प्रहरीले सबारी साधनको यान्त्रिक अवस्थाभन्दा पनि भारतीय मालबाहक सवारी साधन, पराल, ईट्टा, कवाड लोड मालबाहक सवारी साधन र पशु लोड गरेको सवारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनको अनधिकृत रकम लिने गरेको आरोप लाग्दै आएको छ ।
जिल्लासंगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गर्ने गरेका छन् । यस बिषयमा उनीहरूसँग बुझ्दा जिल्लाले रकम असुली गर्न दायित्व दिएका कारण आफुहरू मिलाएर रकम लिने गरेको स्विकार्छन । श्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालय तथा हाकिमलाई काँकडभिट्टा ट्राफिक पोष्ट २५ हजार, चारआली ट्राफिक २० हजार, नयाँ बसपार्क विर्तामोड ट्राफिक १५ हजार, बुधबारे ट्राफिक ३० हजार, लक्ष्मीपुर ट्राफिक १५ हजार, सुरूङ्गा ट्राफिक २० हजार, केर्खा ट्राफिक १५ हजार, दमक ट्राफिक १५ हजार र गौरादह ट्राफिक पोष्टले  १५ हजार मासिक अवैध रकम असुलेर बुझाउनुपर्ने बुझिएको छ ।
ट्राफिक प्रहरीले प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ असुल्ने गरेको छ भने, जिल्ला भरका टिपरबाट पनि मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ । त्यस्तै साना तथा ठुलठुला सवारी साधान, भारतीय नम्बर प्लेटका सवारीसाधनहरूबाट समेत विभिन्न बहानामा ट्राफिक प्रहरीले रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ । प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । एक चालकका अनुसार ट्राफिक प्रहरीले गाडीवालाबाट अवैध रूपमा असुलेको रकम माथिल्लो निकायमा समेत जाने गरेको छ । चेकपोस्टमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म मासिक बुझाउने गरेको बताए । प्रहरी निरीक्षकको संरक्षणमा नै अवैध रुपमा रकम असुली गर्न कार्य भईरहेको स्थानियले बताएका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकले  अवैध रूपमा असुलेको छ । मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

सम्बन्धित समाचार