काठमाडौं । तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ४ आना जग्गा गायब भएको छ । तारेकेश्वर नगरपालिकाकी उपमयेर सिर्जना बुर्लाकोटी अर्याल र शैक्षिक गुठीका प्रतिनिधि कामी शेर्पाले ‘दालेकी शैक्षिक सार्वजनिक गुठी’को जग्गा सँधियार नारायण श्रेष्ठको जग्गा अपुग भएको भन्दै उनको नाममा पास गर्न सिफारिस गरेपछि गुठीको जग्गा अपचलन गरको भन्दै अख्तियारमा उजुरी परेको हो ।
गत ३ फागुनमा सिर्जना बुर्लाकोटी अर्यालको संयोजकत्वमा बनेको तीन सदस्य न्यायिक समितिले गुठीसँगको सँधियार श्रेष्ठको नाममा अपुग भएको जग्गा गुठीले बेहोर्नुपर्ने सिफारिस भएपछि सोविरुद्ध अख्तियारमा उजुरी परेको हो । दालेकी शैक्षिक सार्वजनिक गुठीको मातहत रहेको जग्गा गायब बनाउन भूमिका खेलेको भन्दै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सिर्जना बुर्लाकोटी अर्याल, गुठीका तत्कालीन अध्यक्ष कामी शेर्पा, जग्गाधनी नारायणकुमार श्रेष्ठसहितलाई विपक्षी बनाई अख्तियारमा उजुरी परेको छ ।
नगरपालिकाको सिफारिसपछि श्रेष्ठको नाममा भएको कित्ता नं. १२४४ को व्यक्तिगत जग्गा सरेर कित्ता नं. २७१ र ९९५ मा पुग्यो। नगरपालिकाको सिफारिसअनुसार नापी नक्सामा जेजस्तो कायम भए तापनि गुठीको नाममा रहेको नेपाल कातालुनिया विद्यालय (नेपाल रत्न विद्यालय)को नाममा रहेको कित्ता नं २७३, २७२, २७१ जग्गा श्रेष्ठको १२४४ को जग्गाधनीले अगाडि नपुगेको जग्गा दमासाहीले तीन फिट बेहोर्नुपर्ने निर्णयमा उल्लेख छ ।
त्यस्तै, अर्को निर्णयमा नापी नक्सामा जे जति कायम रहे तापनि कि. नं. ५२७ ले लिनुपर्ने, २ आना १ पैसा जग्गा र ४८९ ले कित्ता नं. २७१ लाई दिनुपर्ने क्षेत्रफल १ आना ३ पैसाबाट एक अर्कोले सट्टापट्टा गरी कित्ता नम्बर ४८९ लाई छाडिदिने निर्णय भएको छ । साथै कित्ता नम्बर ५२७ को बाँकी रहेको जग्गा आवश्यक स्थानमा प्लट मिलान गरिदिनुपर्ने निर्णय भएको छ । जुन कित्ता श्रेष्ठको नाममा छ । त्यस्तै, कित्ता नं. ९५५ को जग्गा डा. मोहम्मद सरिप साहको हो । सिफारिसपछि उनको पनि जग्गा मिचिन पुग्यो। जहाँ अहिले पनि उनको निजी घर छ । आजको राजधानी दैनिकबाट