काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।
यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स (युएई) बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली सङ्घलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट