सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी एसईई परीक्षामा अनुपस्थित

17.8k Shares

धनगढी- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशका एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन्। बिहीबारदेखि सुरु भएको परीक्षामा नियमिततर्फ ५० हजार ६ सय २६ परीक्षार्थीमध्ये ८ सय ३७, प्राविधिक धारतर्फका एक हजार ३१ परीक्षार्थीमध्ये ६ जना र ग्रेडवृद्धितर्फका एक हजार तीन सय १७ मध्ये एक सय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ। 

प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसईई परीक्षा मर्यादित रुपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिए। हिजो पहिलो दिनको अङ्ग्रेजी ग्रेडवृद्धितर्फको प्रश्नपत्रमा समान्य त्रुटि भेटिएको थियो। ‘एउटा प्रश्नमा सामान्य त्रुटि भेटिएको थियो, त्यसलाई सच्याएर परीक्षा मर्यादित रुपमा सम्पन्न गर्न लगायौँ,’ विष्टले भने, ‘डाइरेक्ट स्पिच र इन्डाइरेक्ट स्पिच’बारे सोधिएको ९ नम्बरको प्रश्नमा भेटिएको सामान्य त्रुटिलाई सच्याउनु परेको थियो।’

परीक्षा नियन्त्रण कार्यालयले पनि प्रश्नपत्रमा कुनै त्रुटि भेटिएमा परीक्षा सञ्चालन भएको एक घन्टा भित्रमा आफ्नो सूचना बोर्डमार्फत सूचना गरेर सच्याउन लगाउने गरेको उनले बताए।

धनगढीको धनगढी नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष लक्ष्मणदत्त भट्टले भने आफ्नो केन्द्रमा अङ्ग्रेजी ग्रेडतर्फ पाँच सय २९ परीक्षार्थी रहे पनि प्रश्नपत्रमा त्रुटि रहेको भन्ने बारेमा आफूलाई त्यस्तो गुनासो नआएको बताए। 

सम्बन्धित समाचार