छाया सेन्टर विवाद: ९ वर्षदेखि सर्वोच्चमा मुद्दा, २२ माघदेखि निरन्तर सुनुवाइ

19.8k Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै सर्वोच्चमा ४०औं पेसीबाट निरन्तर सुनुवाइ भइरहेको छ । ९ वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको सो विवादित मुद्दाउपर न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा २२ माघदेखि निरन्तर सुनुवाइ चलिरहेको छ । गत २२ माघदेखि ‘हेर्दाहेर्दैमा…’ रहेको सो मुद्दाको पेसी सोही इजलासमा १२ चैतमा सुनुवाइ भएको थियो । अब अर्को पेसी २० चैतका लागि तोकिएको छ ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवानबहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग राखी २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेका थिए । अदालतले सबै मुद्दा एकसाथ राखेर हेरिरहेको छ । सो पोखरी रहेको जग्गा १२ रोपनी १३ आना रहेको छ । ९ वर्षदेखि १४ पटक हेर्न नमिल्ने, पाँचपटक हेर्न नभ्याउने र स्थगित हुँदै आएको सो विवादसम्बन्धी मुद्दामा अदालतले २२ माघदेखि निरन्तर सुनुवाइमा राखेको छ । अदालतले सो मुद्दामा कसरी फैसला गर्छ ? त्यो हेर्न भने बाँकी रहेको छ ।

यस प्रकरणमा हालको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे जोडिएका छन् । पाण्डे रास्वपाका केन्द्रीय सदस्य हुन् । रास्वपा पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सार्वजनिक जमिन हडपेर संरचना बनाउनेलाई नछाड्ने घोषणा गरेका छन् । सो मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले यदि छाया सेन्टरको विपक्षीमा फैसला आएमा गृहमन्त्री लामिछानेले के गर्छन् ? सो विषय पर्ख र हेरको अवस्थामा छ । पाण्डेले यसअघि पहुँचका आधारमा सो कम्प्लेक्सको विषयमा ढाकछोप गर्दै आइरहेका छन् ।

छायादेवी कम्प्लेक्सको विवादको चुरो कुरा बुझ्न सय वर्षभन्दा पछाडि फर्कनुपर्छ । अहिले काठमाडौं महानगरपालिका–२९ मा पर्ने राणाकालीन दरबार केशरमहलसँगै ‘थँ बहिल’ भनिने विक्रमशील महाबिहार छ । बौद्ध धर्मावलम्बीले जन्म–मरण संस्कार गर्ने यो महाबिहार लिच्छविकालीन मानिन्छ, जसको रेखदेख श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीअन्तर्गत हुँदै आएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार