काठमाडौँ । नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश कार्यसमिति अधिवेशनमा जुटेको छ। प्रथम अधिवेशन शनिबार पोखरामा हुन लागेको हो। अधिवेशनको तयारी पूरा भएको गण्डकी प्रदेश संयोजक रेनुका काउचाले जानकारी दिइन् । अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
पोखराको सभागृहमा अधिवेशन चल्नेछ। अधिवेशनपूर्व चिप्लेढुंगाबाट न्युरोड हुँदै सभागृहसम्म साँस्कृति र्याली निकाल्ने तयारी छ। अधिवेशनलाई कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गर्नेछन् । उनका अनुसार अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ३७८ प्रतिनिधि सहभागी हुनेछन् । ३९ सदस्यीय नयाँ कार्यसमिति अधिवेशनले चयन गर्ने संयोजक काउचाले बताइन्। सर्वसम्मत नेतृत्व चयन हुने उनको भनाइ छ ।
‘जातीय संगठनहरुले उम्मेदवार सिफारिस गर्छन्। सर्वसम्मत नेतृत्व चयनको प्रयास हुनेछ’, उनले भनिन्। धर्म निरपेक्षतालगायतका सवालमा अधिवेशन केन्द्रित हुने काउचाले उल्लेख गरिन्।नेपाली कांग्रेसको नयाँ विधान २०७९ अनुसार बनेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ६० आदिवासी जनजाती सूचीकृत छन्।