काठमाडौं, २३ जेठ : महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक डिएसपी) दीपक खड्का कारबाहीमा परेका छन्। प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो ।
निषेधाज्ञाको समयमा आर्थिक अनियमितता गरेको पुष्टि भएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले डिएसपी दीपक खड्कालाई सोह्रखुट्टेको जिम्मेवारीबाट हटाएको छ ।
खड्कालाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, टेकु तानिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । डीएसपी खड्कालाई आइतबार नै काठमाडौं प्रहरी परिसर टेकुमा पठाइएको छ ।
उनले निषेधाज्ञाको समयमा पनि पैसा लिएर ठमेलमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिएको पुष्टि भएको छ । परिसरका स्रोतले भन्यो, ‘ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिएको पुष्टी भएपछि उनलाई कारबाही गरिएको हो ।’ खड्काले मनाङ होटेलका सञ्चालक देबेन्द्र गिरीसँग मिलेर असुली धन्दा चलाउँदै आएको आरोप लाग्ने गरेको छ। डीएसपी खड्का कार्यसम्पादनमा कमजोर रहेको भन्दै यसअघिदेखि महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थियो ।