सुन तस्कर दावासँग कनेक्सन देखिएका तत्कालीन महानिर्देशक अधिकारीको मोबाइल रिपोर्ट गायब

15.9k Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र साढे ६१ किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा बेल्जियम नागरिक दावा छिरिङबीचको गहिरो कनेक्सन पुष्टि हुने प्रमाणहरू गायब पारिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तत्कालीन नेतृत्वले अधिकारीको मोबाइल रिपोर्ट गोप्य राखेर अधिकारीलाई उन्मुक्ति दिने प्रयास गरेको थियो । तत्कालीन समयमा सीआईबीले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय जाँचुझ आयोगलाई समेत अधिकारीको मोबाइल रिपार्ट नदिएर असहयोग गरेको थियो ।

अधिकारी राजस्व अनुसन्धान विभागमा भएकै समयमा सुन तस्कर दावा छिरिङसँग विच्याटमा लामो कुराकानी गर्ने गरेको र व्यावसायिक डिलिङसमेत गर्ने गरेको विवरण सार्वजनिक भएको थियो। त्यतिबेला भने अधिकारी राजस्व अनुसन्धान विभागबाट सरुवा भएर गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको महानिर्देशकको रूपमा आइसक्नुभएको थियो।

आचार्य आयोगले अधिकारीमाथि पुनः नयाँ किसिमले छानबिन गर्न सिफारिस गरे पनि सीआईबीले उहाँलाई पक्राउ गरी छानबिन शुरू गर्न सकेको छैन। हालका गृहमन्त्री रवि लामिछानेले नै अधिकारी र दावाबीच कनेक्सन रहेको प्रमाणसहितको सूचना तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपलब्ध गराउनुभएको थियो । तर, हाल लामिछाने आफैं गृहमन्त्री भएर आइसक्दासमेत अधिकारीमाथिको छानबिनलाई तीव्रता दिन सक्नुभएको छैन ।

दावाले अधिकारीलाई रकम र व्यवसायको राम्रै अफर गरेको विषयसमेत खुल्न आएको थियो। आचार्य आयोगले सीआईबीसँग सह–सचिव अधिकारीको मोबाइल जाँच रिपोर्ट मागेको थियो । तर, सीआईबीले अधिकारीको मोबाइलको डिजिटल फरेन्सिक ल्याब रिपोर्ट गोप्य राख्दै आयोगलाई नदिएपछि आयोगले अधिकारीमाथि विस्तृत छानबिन गर्न सकेको थिएन।

सम्बन्धित समाचार