काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रूपमा हस्ताक्षर गरी एक करोड ६१ लाख २० हजार ४ सय रुपियाँ भ्रष्टाचार गरेको भन्दै आयोगले सो मुद्दा दायर गरेको हो।
उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर व्यापार व्यवसाय गरी सो कार्य गरेका थिए। उनी कर्मचारी रहेकै अवस्थामा विभिन्न ठेक्कापट्टामा संलग्न रहँदै अकुत सम्पत्ति आर्जन गरेको समेत पाइएको छ।
नेपाल टेलिकमको विना स्वीकृति निजी कम्पनीको सेयर खरिद गरी संस्थापक सेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/०७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिनुभयो ।
विभिन्न ठेक्कापट्टा समेतमा सामेल भएर टेलिकमको बिनास्वीकृति हिमडुङ एन्ड थोकर कन्ट्रक्सन प्रालि कम्पनीबाट ४५ लाख १७ हजार ५ सय रुपियाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५ सय रुपियाँसमेत गरेर जम्मा एक करोड ६२ लाख २० हजार चार गैरकानुनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको आयोगले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट