काठमाडाैँ । ७१औँ ‘मीस वर्ल्ड’ प्रतियोगिताको उपाधी चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले जितेकी छन् । गएराती मुम्बईमा सम्पन्न ग्राण्ड फिनालेमा २५ वर्षीया पिज्कोभाले उपाधी जितेकी हुन् । कानून र व्यवसायिक प्रशासनमा स्नातकोत्तर गरेकी पिज्कोभाले परिवारविहिन बालबालिकाहरुको हकहितमा काम गर्ने बताएकी छन् ।

त्यस्तै लेबनानकी यास्मिन अजायतौन फर्स्ट रनरअप बनेकी छन् । प्रतियोगितामा नेपालकी प्रियंका रानी जोशी मुख्य ४० भन्दा माथि जान सकिनन् । ग्राण्ड फिनालेलाई करण जोहरले होस्ट गरेका थिए ।

यसपालिको ‘मीस वर्ल्ड’ प्रतियोगितामा नेपालबाट सहभागी हुनुभएका समाजसेवी तथा व्यवसायी जिवन थापाले कार्यक्रम अदभुत रहेको जानकारी दिनुभयो । भिभिआइपी पासद्धारा आमन्त्रित भई स्टेजकाे अगाडीबाटै कार्यक्रमलाई प्रत्यक्षरुपमा अवलोकन गर्नुभएका थापाले कार्यक्रम आफैमा अनुपम रहेको र नेपालकी चेली प्रियंकारानी जोशीले हरेका उत्तर सटिक दिएर नेपालको पहिचानलाई थप उचाईमा पुर्याउन सफल रहेको कुरा व्यक्त गर्नुभयाे ।


यो प्रतियोगिता भारतमा पहिलो पटक सन् १९९६ मा आयोजना गरिएको थियो । त्यसको करिब २८ वर्षपछि फेरि यो वर्ष त्यहीँ आयोजना गरिएको हो । अधिकांश मीस वर्ल्ड प्रतियोगिताहरु युरोपियन देशहरुमा आयोजना हुने गर्छन् ।

बिश्व सुन्दरी अर्थात् मिस वर्ल्डलाई सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको रूपमा हेरिन्छ । मिस वर्ल्ड पहिलो पटक १९५१ मा बेलायतमा आयोजना गरिएको थियो।