काठमाडौं- महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रहरी ट्राफिक व्यवस्थापन गरेको छ। शिवरात्रिका दिन पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने प्रहरीले जनाएको छ।
शुक्रबार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिनेछ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिनेछ। गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन्।
आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:
- चाबहिलबाट गौशालातर्फ।
- पुरानो बानेश्वरबाट गौशालातर्फ।
- ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ।
- द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग।
- सिफल चौरबाट जयबागेश्वरीतर्फ।
- लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ।
- गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ।
- तिलगंगाबाट गौशालातर्फ।
- मालबावहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ।
- जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ।
- सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग।
- जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ।