काठमाडौँ । फागुन २८ र २९ गते लुम्बिनी प्रदेशमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ । लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलन स्थगित गरेको हो । सम्मेलनको अधिकांश तयारी पूरा भएपछि स्थगित गरिएको छ ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय सचिव एवं अन्तर्राष्ट्रिय शिखर सम्मेलन सम्मेलनका संयोजक सुमन घिमिरेले संघमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गरिएको जानकारी दिए ।सम्मेलनको लागि बुटवलमा कार्यालय स्थापना गरी करिब ३ महिनादेखि तयारी भइरहेको थियो ।
सम्मेलनका लागि निमन्त्रणा कार्ड, झोला, मञ्च व्यवस्थापनलगायतका काम भएको उनले बताए । उनले हालसम्म कति खर्च भयो भन्ने हिसाब गर्न बाँकी रहेको जानकारी दिए । सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।