काठमाडौँ- नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पुर्याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।
मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्याई त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए।
पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ।