काठमाडौं । अख्तियारले डाम्ने सूचीमा परेका छन् पूर्वसचिव भीम उपाध्याय । सामाजिक सञ्जालका चर्चित पात्र उपाध्यायमाथि मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारको आरोप छ । तर, उनले यसको खण्डन गरी सामाजिक सञ्जालमा लेखेका छन् । यसमा ठूलै खेल रहेको उपाध्यायको संकेत छ ।
उनले नेपाली समाजमा निकै बलियो प्रभाव बनाउन सकेका छन् आफ्ना विचार र अभिव्यक्तिमार्फत् । तर, उनै उपाध्यायमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । विगतमा उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा पनि दायर भएको थियो । उनी पछि छुटे । तर, यसपटक उनीमाथि भ्रष्टाचारको गम्भीर मुद्दा दायर भएको छ ।
अख्तियारले मेलम्ची खानेपानी परियोजनामा पौने ७ अर्ब भ्रष्टाचार भएको अभियोगमा उपाध्यायसहित तीन पूर्वसचिव र अन्य १५ जनामाथि मुद्दा दायर गरेको हो । यसबाहेक तीन कम्पनीसमेतमाथि मुद्दा दायर भएको छ । मुद्दा दायर भएका पूर्वसचिवहरुमा सञ्जय शर्मा र गजेन्द्र ठाकुर पनि छन् । उनीहरु खानेपानी मन्त्रालयमा सचिव भई काम गरेका थिए । मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलमाथि पनि मुद्दा दायर भएको छ ।