पोखराको मित्रमिलन सहकारी ठगी प्रकरण : गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

18.1k Shares

पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत कास्कीले अर्जुन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

गिरी पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादक समेत हुन् । उनलाई जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सहकारीका पूर्वलेखा समिति सदस्य रहेका गिरीले सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमा समेत लगाएको आरोप छ ।

गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका थिए । बुधबार बयान नसकिएपछि हिरासतमा पठाइएको थियो । 

प्रहरीले यसअघि नै मित्रमिलन सहकारीको गठी प्रकरणमा जोडिएका अन्य व्यक्तिहरुलाई समेत पक्राउ गरिसकेको छ । जसमा प्रदेश सहकारी रजिस्टार कार्यालयका पूर्व रजिस्टार तथा कुस्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित सहकारीका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिप्रसाद पौडेललाई पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

सम्बन्धित समाचार