काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् । पार्टीनिकट नेपाल बुद्धिजीवि परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेकोसमेत बताए।
नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताए।
उनले नेपालले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताए। ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभूत बनाएर लैजानुपर्ने आवश्यकता पनि औंल्याए।