काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनीकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
‘गरिबीको रेखाभित्रका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु,’ राष्ट्रपति पौडेलले भने, ‘मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ।’
राष्ट्रपति पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’को व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्गप्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्नसक्ने धारणा राखे।