काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले महामन्त्री गगन थापाको प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न खोजेको जस्तो भान भएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बस्नेतले महामन्त्री थापामाथि यस्तो कटाक्ष गरेका हुन्। बस्नेतले बैठकमा भने,‘पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा भइरहेको यस केन्द्रीय समितिको बैठकको पहिलो दिन महामन्त्री गगन थापाज्यूले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ। उक्त प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रुपान्तरण गर्न लागेको हो कि भन्ने भान मजस्तै अन्य केन्द्रीय सदस्य साथीहरुलाई लागेको होला भन्ने मेरो विश्वास छ।’
बस्नेतले थपे,‘प्रतिवेदनको पेज नम्बर ३२ को बुँदा नम्बर १८ मा ’युवासँग कांग्रेस‘ मा युथ कांग्रेस, उद्यमशील कांग्रेस उल्लेख छ। तर, पार्टीको विधानले युथ कांग्रेस चिन्दैन। युथ कांग्रेस भनेको के हो? कतै २०१० सालमा महामानव वीपी कोइरालाले कलिलो प्रजातन्त्रको रक्षाका लागि गठन गरिएको नेपाल तरुण दललाई घाँटी निचोर्ने काम त भएको होइन? तरुण दलको तदर्थमै चलाउनुको भित्रि रहस्य कहीँ यही युथ कंग्रेस त होइन?’महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनको पेज नम्बर ३६ मा बहसका लागि प्रस्तावित विषयहरुको बुँदा नम्बर १ मा सदस्यतामा स्वतः प्रतिनिधि हुने व्यवस्था अन्त्य गर्ने, केन्द्रीय सदस्य, सांसदलगायत विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रुपमा तल्लो तहबाट अधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने उल्लेख छ।उक्त नियम पदाधिकारीहरुमा लागु हुने कि नहुने? भन्दै बस्नेत ले प्रश्न गरेका छन्।
थापाको प्रतिवेदनको पेज नम्बर ३७ मा प्राइमरी इलेक्सनको प्रस्ताव गरिएकोले प्राइमरी इलेक्सनको नेपालीकरण के हो भनेर प्रश्न गरेका छन्।‘महामन्त्रीज्यूबाट निकै फूलबुट्टा पार्न खोजिएको यो प्रतिवेदनमा १५औं महाधिवेशनको कार्यतालिकामा विधान महाधिवेशन २०८१ असोजमा गर्ने भन्नुभएको छ। परिकल्पना नै नगरेको विधान अधिबेशन भनेको के हो? केही समय पछाडि हाम्रो महासमिति बैठक जहाँ हुँदैछ, त्यहाँ नै एमाले जे गर्यो, त्यही कांग्रेसले अपनाउन जरुरी छ र? के कांग्रेसको विधान पुर्ण असफल भए कै हो र? महामन्त्रीको प्रतिवेदनले सम्पूर्ण केन्द्रीय सदस्य र ती तमाम महाधिवेशन प्रतिनिधिहरुले दिएको म्यान्डेटलाई के लात हानेको हो?’
महासमिती बैठकमा महामन्त्रीद्वारा प्रस्तुत हुने सांगठनिक प्रस्ताव केन्द्रीय सदस्यलाई गोप्य राखेर मिडियामा छताछुल्ल भएकोप्रति पनि प्रश्न गरेका छन्।बस्नेतले भने,‘हामी केन्द्रीय सदस्यलाई गोप्य भनेर बाँड्ने अनि बैठक हुनुअघि नै मिडियामा पठाउने काम कसले गर्छ? पार्टीको बैठक प्रत्यक्ष प्रसारण गरौं भन्दा गोप्यता भएन भनेर स्यालहुँइया गर्ने अनि गोप्य गरौं न त भन्दा आफू अनुकूल समाचार लेखाउन मिडियामा पठाउने? यो कस्तो खाले प्रवृति हो? यसमा सांगठनिक प्रतिवेदनले के भन्छ? के यसले हाम्रो भावी रणनीति र गोपनियता कायम हुन्छ।’