काठमाडौं महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने

16.9k Shares

 कठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्बिन (फोहोर दानी) राख्ने भएको छ।

सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट फोहोर दानी राखिने महानगरपालिकाले जनाएको छ। 

फोहोर दानीको एउटा सेटमा २ वटा बिन (भाँडो) हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो। उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताए। 

यसका लागि घरदैलो कार्यक्रममार्फत् उत्पादकलाई बर्गीकरण विधिमा सचेत गराइने श्रेष्ठले जानकारी दिए। छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकिएको पनि उनले बताए। ‘घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेका हौँ,’ उनले भने।

यसरी राखिने सेटहरु २ प्रकारका छन्। पहिलो खाले सेट सानो आकारको हो। यसमा राखिने एउटा विनको क्षमता ७० लिटरको हुनेछ। १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन्। यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो। यस्ता बिन ३ सय सेट राखिनेछन्। 

सम्बन्धित समाचार