काठमाडौं । बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीले वर्षौंदेखि कब्जा गरिरहेकोे करिब तीन सय रोपनी जग्गा फिर्ता हुन सकेको छैन।
संसदीय समितिलगायतका छानबिन समितिले हायात रिजेन्सीले हडपेको उक्त जग्गा फिर्ता लिन सुझाव दिएको भए पनि उक्त सुझाव कार्यान्वयनका लागि कुनै पहल भएको छैन।
अर्बौं रुपियाँ मूल्य बराबरको तारागाउँ विकास समितिको उक्त जग्गा होटलले जालसाझी गरेर कौडीको भाउमा आफ्नो नाममा बनाएको थियो।
उक्त प्रकरणलाई अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छुट्टै युनिट खडा गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि यस प्रकरणलाई अगाडि नबढाउन राजनीतिक नेतृत्वबाट दबाब दिइएको स्रोतको भनाइ छ।
सेयर खरिद, जग्गा नामसारी र लिज सम्झौतालगायतका कागजात संकलन गरी प्रहरीले अनुसन्धान गरिरहेको भए पनि राजनीतिक दलका नेताहरूले अनुसन्धानलाई प्रभावित पार्न चलखेल गरिहेको स्रोतको दाबी छ ।
ललिता निवास र बाँसबारी प्रकरणमा अगाडि बढेको प्रहरीलाई हायात होटलमा पुग्दा ‘ब्रेक’ लागेको स्रोतको भनाइ छ।
होटलले आफूखुसी पुँजी वृद्धि गरेर उक्त जग्गा हत्याएको भए पनि सरकारीस्तरबाट जग्गा फिर्ता गराउन पहल भएको छैन। आजको नेपाल समाचारपत्रबाट