हेटौँडा– मकवानपुर प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुराको हिमाली गाउँपालिका–१ घर भएका ३१ वर्षीय देव बहादुर थापा र नवलपारासी पूर्वीको कावासोती नगरपालिका–५ घर भएका ५७ वर्षीय वीर बहादुर थापा मगर छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेक पोस्टमा चेकजाँचको क्रममा उनीहरुको साथबाट पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ।
चितवनबाट झापातर्फ गइरहेको मे १ ख २५३७ नम्बरको बसलाई प्रहरी चौकी रातोमाटेको प्रहरीले चेकजाँच गर्दा बसमा सवार रहेका थापा र मगरको साथमा पेस्तोल र गोली फेला परेको हो।
प्रहरीले उनीहरुको साथबाट पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ राउन्ड र सेतो रंगको पाउडर जस्तो देखिने धुलो पदार्थ समेत बरामद भएको जानकारी दिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।