मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको संकेत होः प्रधानमन्त्री दाहाल

19.3k Shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष  निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन्।नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा यस वर्ष अभियानकै रुपमा महोत्सवहरु आयोजना हुनु अर्थतन्त्र सुधारका दृष्टिले शुभसङ्केत भएको बताए।

उनले भने, ‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सव विरलै आयोजना हुन्थे तर यस वर्ष अभियानकै रुपमा मेला हुन थालेका छन्। विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय वित्तीय संस्थाले पनि नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको जनाएका छन्। हाम्रा लागि यो शुभसङ्केत हो।’ उनले उद्योगी–व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे।देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्रीले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।

प्रधानमन्त्रीले अर्घाखाँचीको सिद्धारा–जलुके क्षेत्रमा जनयुद्धकालमा आफू हिँडेको स्मरण गर्दै यस क्षेत्रको पर्यटकीय विकासका निम्ति आफू सकारात्मक रहेको बताए। उनले अर्घाखाँचीको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाको विकासप्रति स्थानीय राजनीतिक दलमा देखिएको एकता र सहकार्यको सराहना गरे।

अर्थतन्त्रलाई चलायमान बनाउन आफू नेतृत्वको सरकारले भरमग्दुर प्रयास गरिरहेको स्पष्ट गर्दै प्रधानमन्त्रीले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो। निर्वाचनबाट आएको त्रिशङ्कु संसद्ले राजनीतिक स्थायित्व दिने नदिनेमा निकै ठूलो संशय थियो तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदै गएका छन्।’प्रधानमन्त्री दाहालले विदेशी मुद्राको सञ्चितिमा प्रगति भएको, पर्यटक आगमनमा वृद्धि भएको, बैङ्कको ब्याज कटौती गरिएको, सहकारी र लघुवित्तका समस्या सम्बोधन भएका, भुक्तानी सन्तुलन, विप्रेषण वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको बताए।

विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थाले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएको तथा सन् २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका बताउँदै प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धि प्राप्तिका निम्ति काम भएका उल्लेख गरे।फरक प्रसङ्गमा उनले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्रगति भएको, आफ्नो चीन र भारत भ्रमणका साथै विश्व खाद्य सम्मेलन, राष्ट्रसङ्घीय महासभा, विश्व जलवायु सम्मेलन र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र यसै साता युगान्डामा आयोजना हुने असंलग्न राष्ट्रहरुको सम्मेलनमा आफूले गर्ने सम्बोधनबाट देशको अन्तरराष्ट्रिय छवि अझ उजागर हुने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार