काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए । उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो ।
बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका थिए । आश्रमभित्र आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए ।
बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए । आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए ।