लमजुङ । चिसो बढ्न थालेसँगै चैत/वैशाखको गर्मीमा लेक पुगेका दर्जनाँै भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन् । गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्याएका भेडाका बथान यतिबेला बेँसी आइपुगेका हुन् ।जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेको भन्दै ती भेडीगोठका भेडा लेकबाट बेँसी आइपुगेका भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेले बताए । उनका अनुसार सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । ती भेडीगोठका बथान यतिबेला बेँसीका खेत तथा गर्हरामा रहेका छन् । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको स्थानीय दीर्घराज घलेले बताए ।
उनले घलेगाउँमा दुई भेडीगोठ रहेको जनाउँदै दुईवटै गाउँमा आइपुगेका जानकारी दिए । उनका अनुसार दुई भेडीगोठमा एक हजार बढी भेडाबाख्राका बथान रहेका छन् । हिमालको काखमै रहेको ठूले लेकमा पुगेर फर्किएको र अब गर्मीयाम सुरु भएपछि मात्र उक्त स्थानतर्फ पुनः भेडीगोठ लैजाने भेडीगोठाला कमल अधिकारीले बताए । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने उनको भनाइ थियो ।त्यस्तै कास्कीको सिमानाडाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केही क्युबे–ल्हेदे हुँदै भेडीगोठ पस गाउँमै आइपुगेको छ । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी हुँदै गाउँसम्मै आइपुगको बताइएको छ । विषेश गरी गुरुङ समुदायको पूर्खौँली चलन तथा पेसाका रुपमा भेडीगोठलाई लिइन्छ ।
भेडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गर्दछन् । लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेडी गोठालाको भनाइ थियो । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमानाडाँडा तिङ्जेमा पुग्ने गर्दछन् ।