गाजाको अवस्था दर्दनाक, युद्धसँगै भोकमरीको समस्या देखिँदै

15.4k Shares

काठमाडौं– प्यालेस्टिनी लडाकू समूह हमासले ७ अक्टुबरमा गरेको हमलापछि इजरायलले गरिरहेको आक्रमणका कारण गाजाको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ। पछिल्लो रिपोर्टका अनुसार इजरायलको आक्रमणबाट अहिलेसम्म २० हजार प्यालेस्टिनी मारिएका छन्। 

इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा स्वास्थ्य सेवा ठप्प भएको छ। स्थानीय नागरिक भोकमरीको समस्यासँग जुझिरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा अब कुनै पनि अस्पताल बचेको छैन, जसले उपचार सेवा प्रदान गर्न सकोस्। 

गाजाको दक्षिणी क्षेत्रमा पनि भीषण युद्ध जारी छ। उक्त क्षेत्रमा इजरायली पक्षले प्यालेस्टिनीहरुलाई खान यूनिस शहर र उक्त शहर आसपासको क्षेत्र खाली गर्न उर्दी जारी गरेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार गाजा शहरमा रहेका ३६ अस्पतालमध्ये अहिले ९ वटा मात्रै काम गर्न सक्ने अवस्थामा छन्। यद्यपि यी अस्पतालहरुमा पनि कहिलेसम्म सेवा प्रवाह हुन्छ भन्ने यकिन छैन। गाजा शहरको उत्तरी क्षेत्रमा एउटा पनि अस्पताल छैन, जहाँबाट सेवा प्रवाह भइरहेको होस्। 

अल-अहली एकमात्र अस्पताल बचेको थियो, जसले जेनतेन स्वास्थ्य सेवा प्रदान गरिरहेको थियो। तर उक्त अस्पतालले पनि अब बिरामीहरु भर्ना गर्न बन्द गरिदिएको छ। अल-शिफा, अल-अवदा र अल-शहाबा अस्पतालको अवस्था पनि यस्तै छ। 

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘अल अहली अस्पतालको अब संरचना मात्रै बचेको छ। २ दिन पहलेसम्म उत्तरी गाजामा यो एक मात्र अस्पताल थियो, जहाँ घाइतेहरुको उपचार भइरहेको थियो। यहाँको आकस्मिक वार्डमा ठूलो संख्यामा घाइतेहरु आइरहेका थिए।’

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा ९३ प्रतिशत जनता अपर्याप्त भोजन तथा उच्चस्तरको कुपोषणका साथै भोकमरीको संकठको सामना गरिरहेका छन्। 
तर अब यो अस्पतालमा अपरेशन थिएटर बन्द भएको छ। किनकि यहाँ इन्धन छैन। न बिजुली छ, न त मेडिकल सप्लाइ नै छ। डाक्टर, सर्जन लगायत स्वास्थ्यकर्मी पनि छैनन्। 

विश्व स्वास्थ्य संगठनले पछिल्लो समय एक सन्देश जारी गर्दै गाजामा अब भोकमरीका कारण धेरै मानिसहरुको मृत्यु हुने चेतावनी दिएको छ। 

सम्बन्धित समाचार