भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिन्छौँ : अध्यक्ष नेपाल

18.6k Shares

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका विरुद्धमा दृढताका साथ उभिने बताएका छन् । पार्टीको राप्ती नगर कमिटीको भेलालाई आज सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्नेहरु जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताए । “हामी स्वच्छ राजनीति गर्न चाहान्छौँ । हामी स्वच्छ राजनीतिसँगै सुशासनको पक्षमा छौँ । भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति वा दललाई जनताले दण्डित गर्नुपर्छ”, अध्यक्ष नेपालले भने ।

बिना पैसा काम नहुने परिपाटी अन्त्य हुनुपर्ने बताउँदै अहिले सबै क्षेत्रमा भ्रष्टाचार फैलिएकाले भ्रष्टाचारीलाई जनताले नै दण्डित गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले भने, “हाम्रो पार्टी सुशासन, जनताको पक्षमा छ । जनतालाई रोजगारी उपलब्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गर्दै देशलाई अघि बढाउन दृढ छ ।”

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनका लागि सबै नेतारकार्यकर्ता गाउँ, टोलसम्म पुगेर जनताका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले जनताको सङ्घर्षबाट नेपाल सङ्घीय लोकतान्त्रिक मुलुकका रुपमा अगाडि बढेको बताउँदै जनताका उपलब्धि खोस्ने छुट कसैलाई नभएको उल्लेख गरे ।

उनले भने, “अब जनताका दिन सुरु भएका छन् । मधेशी जनताको छोरो राष्ट्रपति बन्नसक्ने अवस्था हामीले बनाएका छौँ । नेपाली छोरी राष्ट्रपति बन्ने सुनिश्चित बनाएका छौँ । यो हामीले जनताको शक्तिको उपजमा प्राप्त गरेका हौँ ।”

सम्बन्धित समाचार