पर्वत । अगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै उनले विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने समेत दाबी गरे ।
नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आज आइतबार कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्ने बताएका थिए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताएका थिए ।
थापाले गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।” थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको पनि जिकिर गरे । कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनले बताए ।