अरहान्त र राजेन्द्र एनिभर्सरी कप स्क्वासको क्वाटरफाइनलमा

16.1k Shares

काठमाडौं-  एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको क्वाटरफाइनल खेलमा नेपालका शीर्ष वरीयताप्राप्त अरहन्तकेशर सिंह र राजेन्द्र शाक्यले क्वाटरफाइनलमा स्थान बनाएका छन्। सोमबार भएको खेलमा अहन्तले ऋदि शाक्यलाई ११-२, ११-५, ११-८ को सोझो सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका थिए।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भएको प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको अन्य खेलमा अमिर ब्लोनले राजकुमार श्रेष्ठलाई ११-४, ११-७ र ११-६ ले पराजित गर्दा उमित शाक्यले विनायक श्रेष्ठलाई ११-३, ११-१ र ११-६ तथा गोपाल थापाले विकास तुम्सिङ मगरलाई ११-७, १२-१० र ११-९ ले पराजित गरेर अन्तिम आठमा स्थान बनाए।

त्यस्तै राजेन्द्र शाक्य पनि राकेश परियारलाई ११-७, ११-१ र ११-२ ले हराएर अर्को चरणमा प्रवेश गरे। ऋषभ चुरिवाल  र दिपक थापाले पनि आ-आफ्नो पहिलो खेल जितेका थिए। ऋषभले पासाङ ब्लोनलाई ११-६, ११-२, ११-१ तथा दिपकले शिव कायस्थलाई ११-५, ११-५ र ११-७ ले निराश बनाए।

यसैगरी मास्टर्स ५० प्लसमा लालबहादुर गुरुङले किशोर महर्जनलाई १२-१०, ११-४, १२-१४ र ११-९ तथा प्रज्वल प्रकाश प्रधानले रत्न महर्जनलाई ११-५, ११-९ र ११-७ ले पराजित गरेका थिए।

नेपाल स्क्वास र्याकेट संघ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता भइरहेको हो। एक्स स्टेपको प्रायोजन रहेको यो प्रतियोगिता मङ्सिर २९ गतेसम्म चल्ने छ। प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु१९, गल्र्स यु१९, मास्टर्स ५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ।

सम्बन्धित समाचार