काठमाडौँ । एसिसी यु-१९ एसिया कपको दोस्रो तथा आफ्ना लागि जित्नै पर्ने खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस जितेको छ। नेपालका कप्तान देव खनालले टस जितेर पहिले फिल्डिङ रोज्दै अफगानिस्तानलाई पहिले ब्याटिङको निम्ता दिएका हुन्।नेपालले पाकिस्तान विरुद्ध खेलेका दुई खेलाडीलाई परिवर्तन गरेको छ। स्पिनर तिलक राज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखेको छ। उनीहरूको स्थानमा तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई प्लेइङ ११ मा समेटेको छ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा हुने खेलमा नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाब रहेको छ। अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग हारेकाले नेपाललाई हराएर सेमिफाइनल आसा कायम राख्ने दौडमा मैदान उत्रिने छ।आजको खेलमा नेपाल पराजित भएमा सेमिफाइनल सम्भावना सकिने छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।समूहको अन्तिम खेलमा नेपाल मंगलबार भारतसँग खेल्ने छ। पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ। समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन्।
समूह ‘बी’ मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्। आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने छ। भारत र पाकिस्तानबीचको विजेता टिमले सेमिफाइनलमा स्थान बनाउने छ।नेपालले खेलेका पछिल्ला पाँच खेलमा कुनै खेलमा पनि जित निकालेको छैन। पाँचै खेलमा नेपाली युवा टोली पराजित भएकाले अफगानिस्तान विरुद्धको खराब विरासतको अन्त गर्ने चुनौतीपनि नेपाली युवा टोलीलाई रहेको छ।त्यस्तै, अर्को खेलमा भारत विरुद्ध पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्दै भारतलाई ब्याटिङको निम्ता दिएको छ।