झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार रुपैयाँ तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्याएको थियो ।
ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरजस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन् ।
कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिएको उनले सुनाइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्याएपछि झापा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो ।