काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध रू ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।
वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध रू एक करोड १९ लाख पाँच हजार छ सय तीन, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध रू ८९ लाख दुई हजार छ सय ६५ बराबरको बिगो दाबी गरिएको छ ।