कलैया । सशस्त्र प्रहरी बलको गोलागंज ( सिम्रौनगढ ) स्थित बिओपीलाई मिलाएर केही कारोवारीले नाकाबाट तस्करी गर्दै आइरहेको कुरा त्यतिबेला सार्वजनिक भयो जतिबेला महिना नपुग्दै कबोल गरेको रकम मागेपछि नदिएको भन्दै सशस्त्र प्रहरीले सामान पक्राउ ग¥यो । सन्दिपको लगानीमा सुनिल र भगतले तस्करीको लाइन पाएका थिए । उनीहरू र सशस्त्र प्रहरी गोलागंजका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी बीच हरेक महिनाको २५ गते तस्करी गर्न दिएवापत मासिक १८ हजार दिने सहमति भएको रहेछ । यो कुरा उनीहरूले हामीसँंग खुलेर नै भने । उनीहरूको भनाई थियो, ‘हामीले काम गरे बापत हरेक महिनाको २५ गते १८ हजार दिने सहमति गरेका थियौ र पहिलो महिनामा दियौं । तर अहिले १८ गते नै इन्सपेक्टर सरले पैसा माग्नुभयो, हामीले महिना बितेको छैन, पुगेपछि दिन्छौं भनेको १९ गते नै सामान समात्नुभयो ।’ कारोवारीहरूले लगाएको आरोपलाई निरीक्षक अधिकारीले अस्वीकार गर्दै त्यस्तो भए आंफुले राजिनामा दिने बताउँदै आएका छन् ।
हाम्रा संवाददातासँग कुरा गर्दै उनले भने, मैले रकम पनि लिएको छैन, तस्करी पनि गराएको छैन । उता व्यापारीहरू भने निरीक्षक अधिकारीको भनाइ गलत भएको बताउदै उनले कुन कारोवारीसंँग कति गते कति रकम लिने गरेको भन्ने लिष्ट आंफुहरू भएको बताउदै यस संवाददातालाई समेत दिएर सार्वजनिक गर्न अनुरोध गरे ।
उनीहरूले हामीलाई उपलब्ध गराएको नामावली अनुसार बलिराम १६०००, बिधायक २०००, कस्मेटिकवाली ३०००, निशावाल १२०००, खसिबोका १२०००, पटेर्वा साइकल चिनी ५०००, तरकारी ३०००, अरबिन्द २००००, सज्जन ३०००, संजय १२०००, राजु १२०००, भोला ४०००० र संजित १५००० हजार छन् ।
यी कारोवारीहरूले बिओपी गोलागंजलाई यति रकम दिएर तस्करीको लाइन पाएका हुन् । मासिक रकम पनि लिने अनि सामान पनि पक्राउ गर्ने भन्ने हाम्रो संवाददाताको प्रश्नमा डिआइजी दिपेन्द्र शाहले आंफुले छानबिन गरिरहेको बताए । सशस्त्र बाराका एसपी टोप बहादुर डांगीले हामी मिलेर जाउं, त्यस्तो केही भए छलफल गरौंला भने । पिपरपाती स्थित गुल्मका डिएसपी प्रेमसिंह धामीसंग जिज्ञासा राख्न बारम्बार फोन गर्दा उनको मोवाइल अफ थियो । तर अहिले बाराको सिम्रौनगढ र मुसर्वा नाकाबाट भने व्यापक तस्करी भैरहेको छ ।