काठमाडौँ । कतारले अगामी २४ घण्टाभित्र इजरायल र हमासबिच जारी द्वन्द्वमा युद्धविरामको घोषणा गरिने बताएको छ । युद्धविराम चार दिनसम्म लागू हुने तथा यो समय थप पनि हुनसक्ने कतारले बताएको हो ।हमासको कब्जामा रहेका इजरायली बन्धकका विषयमा यसअघि बहुप्रतीक्षित सम्झौता भएको थियो । सुरुवाती चरणमा ५० जना बन्धकलाई छाडिने भएको छ जसमा महिला र बालबालिकालाई प्राथमिकता दिइनेछ । यसको बदलामा चार दिनसम्म अस्थायी युद्धविराम गरिनेछ ।
यद्यपि, बन्धकलाई कहिले छाडिने र अस्थायी युद्धविराम कहिलेदेखि लागू हुन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिइएको छैन । यसका साथै हरेक अतिरिक्त १० बन्धकलाई रिहा गर्दा थप एक दिन युद्धविराम गरिने बताइएको छ । यस सम्झौताबारे बयान जारी गर्दै हमासले ५० इजरायली बन्धनको बदलामा इजरायलको जेलमा बन्द रहेका १५० जना प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गरिने जनाएको छ ।यस सम्झौता अन्तरगत मानवीय सहयोग, अत्यावश्यक औषधी र इन्धनका ट्रकलाई गाजामा प्रवेश गर्न दिइनेछ । हमासको बयानअनुसार चार दिनको युद्धविराममा इजरायले हमला गर्ने छैन भने कसैलाई पक्राउ पनि गर्ने छैन ।