अब अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो : सरकार

18.1k Shares

काठमाडाैं- कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्नेगरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपील गरेको छ ।
‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ’, मन्त्रालयले भनेको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपील छ ।’
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो मात्रामा बढिरहेको छ ।
मन्त्रालयले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गरिएको छ। यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्न/ नगराउन पनि अपील गरिएको छ ।
‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ। जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ ।’

सम्बन्धित समाचार