उमेर किर्तेको छानविन गर्न सेनापतिले किन गरे अटेर ?

17.2k Shares

काठमाडौं । रथी बढुवामा सिफारिसका लागि सार्वजनिक सूचनापछि विवादमा परेका उपरथी ताराध्वज पाण्डेको नागरिकतामा उमेर कीर्तेबारे प्रधानमन्त्रीले चासो राखेका बेला प्रधान सेनापति प्रभुराम शर्मा भने अटेर गर्दै आइरहेका छन् ।

सेनाको गरिमा र प्रतिष्ठान जोगाउने जिम्मेवारी पाएका प्रधान सेनापति नै उमेर कीर्ते प्रकरणको छानबिन गर्नुको साटो त्रिवि परीक्षा नियन्त्रण कार्यालयलगायतका अधिकारप्राप्त निकायमा समेत दबाब बढाउँदै पाण्डेको बढुवाका लागि फाइल तयार पार्न अग्रसर भएका हुन् ।

पाण्डेले उमेर घटाएर बनाएको नागरिकताका आधारमा जागिर खाएको र उनी अवकाशमा गइसक्ने बेलामा रथी बढुवा गरेर प्रधान सेनापतिको लाइनमा राख्न खोजिएपछि उनको प्रमाणपत्रमा समेत केरमेट गरेको प्रमाणहरू सार्वजनिक भइसकेका छन् ।

पाण्डेको उमेर कीर्तेको समाचार विभिन्न संचारमाध्यममा आए पछि रक्षा मन्त्रालयले जंगी अड्डालाई सत्य तथ्य मागेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले समेत यस प्रकरणबारे चासो राखेको बताइएको छ ।

प्रधान सेनापति शर्माले भने सेनामा यस्तो विवाद धेरै अघिदेखि नै रहेको र हालै अवकाश पाएका रथी सरोजप्रताप राणाको ३ वटा नागरिकता रहेको भन्दै पाण्डेको पनि यस्तै विवादमा पहिले नै समाधान भइसकेको भन्दै ढाकछोप प्रयास गरेका छन् ।

प्रधान सेनापतिको रहस्यमय जोडबलकै कारण ताराध्वजको उमेर कीर्तेको प्रकरण सामसुम पार्न खोजिएको उच्च अधिकारीहरू बताउँछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत गम्भीर रूपमा लिएको उजुरीको किनारा नलाग्दै पाण्डेलाई रथीमा बढुवा गर्न जंगी अड्डाबाट प्रस्ताव तयार पार्न लागिएको स्रोतको दाबी छ ।

आयोग र रक्षा मन्त्रालयको स्पष्ट रूपमा जाँचबुझ गरी राय पेश गर्नु भन्ने निर्देशनलाई समेत अटेर गरिएको छ । २०३८ साल देखि २०४२ साल चैत्रसम्म २०२१÷१०÷१२गते जन्ममिति भएका पाण्डेले जागिर खाने बेला एसएलसी पास गरेको ४ वर्षपछि जन्म मिति सच्याएर २०२३ माघ २३ को मिति राखेर अर्को नागरिकता लिएको प्रमाण बाहिर आइसकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ४ वर्षपछि अव्यवहारिक रूपमा २ वर्ष उमेर घटाउनु आफैमा कानुन विपरीत हुन आउँछ । शैक्षिक प्रमाणपत्रमा उमेर सच्याउन परे ६ महिनाभित्र सच्याइसक्नुपर्ने त्यसबेलाका नियम थियो । तर पाण्डेको हकमा ४ वर्षपछि ढड्डामै केरमेट गरेर सच्याइएको पाइएको छ ।

सैनिक नेतृत्वमा पुग्ने व्यक्तिले स्पष्ट रूपमा उमेर सच्याएको रेकर्ड बाहिर छताछुल्ल हुँदा समेत उनैलाई अघि सार्नुको पछाडि सेनापति शर्मा केही स्वार्थ र प्रभावमा परेको आशंका गर्न सकिने सैनिक अधिकारीहरू नै बताउन थालेका छन् ।

एक उपरथीले भने– पाण्डे जर्साबका २ वटा नागरिकता रहेको र उमेरमा कीर्ते गरेको प्रमाण अब छरपस्ट भइसके । यस्तोमा छानबिन गर्ने वा उनलाई यसअघिका नजिरका आधारमा घर बिदा गरेर पठाउनुपर्नेमा सबै विवाद र प्रमाणको बेवास्ता गरी दाग लागेका व्यक्तिलाई अगाडी सार्दा सेनाको पारदर्शिता र निष्पक्षतामाथि शंका गर्ने ठाउँ पाउँछन् ।

पाण्डेले एसएलसीको चारित्रिक प्रमाणपत्र चन्दावती मा.वि.बाट २०४३÷०१÷०७ गते निकालेको देखिन्छ । २०३९ सालमा आई.ए. पढ्दा कुन चारित्रिक प्रमाणपत्र पेश गरेका थिए ? यति छानबिन समेत नगरी सेनापति किन मुढेबलमा उत्रिए ? यो प्रश्न उठेको छ ।

पाण्डेले २ वटा नागरिकता बनाएको प्रमाण पनि सार्वजनिक छन् । नागरिकताको नम्बर समेत (ना.प्र.नं. ३६०८६ र १६८१–१६०८६) दुईवटा हुनु स्वतः कीर्ते हो । उनीमाथि सरकारी कीर्तेको मुद्दा समेत चल्न सक्छ । त्यसो त उनले कीर्ते गरेको उमेरका आधारमा २०३८ सालमा एसएलसी दिने उमेर नै पुग्दैन । यसबाट पनि सबै प्रष्ट हुन्छ ।

एकातिर प्रधान सेनापति कीर्ते प्रकरणलाई बेवास्ता गर्दै पाण्डेको बढुवाका लागि अग्रसर भएका छन् भने अर्कोतर्फ जङ्गी अड्डाको तालिम पुरा नगरेका व्यक्तिहरूको सिफारिसको आधारमा प्रधानसेनापति र रक्षा सचिवको मिलेमतोमा गत वैशाख महिनादेखि हालसम्म १०÷१२ जना अधिकृतहरूको अर्थ मन्त्रालयको स्वीकृतिबिना विशेष पदोन्नति समेत गरिएको छ । यसको आर्थिक व्ययभार राज्यले व्यहोर्नु पर्ने सैनिक अधिकारीहरू बताउँछन् ।

सम्बन्धित समाचार