वीरगञ्ज । वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।
गत आर्थिक वर्ष २०७९÷८० को तीन महिनाको तुलनामा करिब रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा रु १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।