दशैँमा खेलिंदैछन् २३ लाख बुक तास

16.4k Shares

काठमाडौँ । दशैंलाई लक्षित गरेर करिब २३ लाख बुक तास आयात भएको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको सुरुवाती दुई महिना अर्थात साउन र भदौमा २२ लाख ९७ हजार बुक तास आयात भएको देखिन्छ । आयातकर्ताहरुका अनुसार यसबेला आयात गरिएका अधिकाम्श तास दशैँ र दीपावलीमा खपत हुन्छ। त्यसैले हिउँदका लागि फेरी दशैँ तिहारको बिचमा थप तास आयात गर्ने गरिएको छ । 

गत वर्षभन्दा बढी यस वर्ष दशैंलाई लक्षित गरेर तास आयात भएको हो । गत वर्षको सोहि अवधिमा ६ लाख ७८ हजार २४४ बुक तास आयात भएको थियो । जसका लागि एक करोड ३ लाख ३२ हजार रुपैयाँ बाहिरिएको थियो ।  

तास आयातबाट सरकारले ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवको दुइ महिनामा सबैभन्दा बढी चीनबाट तास आयात भएको छ । यस अवधिमा चीनबाट २१ लाख ९६ हजार ६०२ बुक तास आयात गरिएको छ । जसका लागि ६ करोड एक लाख २१ हजार रुपैयाँ बाहिरिएको छ । 

त्यस्तै, भारतबाट एक लाख एक हजार २४ बुक तास आयात भएको छ । यो तास आयात गर्दा मुलुकबाट ४३ लाख ६३ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

मनोरंजनका रुपमा खेलिने तासलाई व्यवसायिक जुवाडेहरुले भने बद्नाम गराउने गरेका छन् । उनीहरुले कानुनको बर्खिलाप हुनेगरी खेल्ने तास जुवाले धेरैको घरबार नै उठिवास लाग्ने गरेको छ भने कतिपय मानिसहरु तास जुवाका कारण अपराधिक गतिविधिका शिकार समेत हुने गरेका छन् ।

गाउँघरमा तास, जुवा लगायतका खेलका कारण हुने झैँ(झगडाले सामाजिक सद्भाव र शान्तिमा समेत खलल पुर्याउने गरेको छ । त्यसलिले पारिवारिक रुपमा मनोरन्जनको लागि मात्र तास खेल्ने र आपसी आत्मियता थप्ने काममा मात्र तासको प्रयोग उचित हुन्छ । 

सम्बन्धित समाचार