महोत्तरी । महोत्तरीका नाकाबाट व्यापक तस्करी चलिरहेको छ । सिराहामा तस्करी गराएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालयले त्याहांका एसपी , डिएसपीलाई मुख्यालय तानेर अर्को टोली नै पठाएको छ । तर तस्करी काण्डमा नेपाल प्रहरीको भने कोही पनि तानिएको छैन र कुनै अनुसन्धान पनि गरिएन । सिराहा पछि अहिले तस्करी महोत्तरीका नाकाबाट चलिरहेको छ। महोत्तरीको पनि गडाहाभेडपुर नाकाबाट भने व्यापक तस्करी चलिरहेको छ । तस्करीमा नेपाल प्रहरीले सहयोग गरिरहेको समेत खुलेको छ ।
प्रहरी चौकी गडाहाभेडपुरबाट सीमामा पुग्न जम्मा जम्मी एक किलोमिटर होला । उक्त प्रहरी चौकीको प्रमुख असई रामराज कुशवाह रहेका छन् । उनले नै तस्करहरूलाई तस्करीको लाइन दिएका छन् । असई कुशवाहले तस्करीको लाइन दिएका व्यापारीहरूमा श्याम यादव , सोलवा भन्ने सोल कुमार मण्डल , गजेन्द्र , हरिचन मण्डल कपडा सुखेरा चौधरी मोवाइल , महेश यादव इलेक्ट्रोनिक सामान , ब्रिजेश यादव , गणेश साह रक्सी , नियाज र समिरउल गाईगोरू र रूदमहमदको रांगा मुख्य छन् । असई कुशवाहले आफ्नै सुरक्षामा तस्करीको सामान कटाउन सहयोग गर्ने गरेको गौशालाका एक कपडा व्यवसायी बताउँछन् । व्यापारी र तस्करहरसंग रकमको सेटिङ गर्ने र उठाउने काम असई कुशवाहले घुमुवाको रूपमा परिचालन गरेका हवल्दार रमेश कुमार सिंहले गर्दै आएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले चोरी तस्करी नियन्त्रण गर्न दिएको आदेश मातहतले नमानेको यो एउटा उदाहरण मात्रै हो ।