आफ्नो इच्छा र आकांक्षा जेमा छ त्यसलाई छाड्न नसकिने उदाहरण बनेका छन् तेक्वान्दो खेलका प्रशिक्षक सातौ डान टिकाप्रसाद लिम्बु (टार्जन सुब्बा) ।
२०४० सालबाट त्रिपुरेश्वरको रंगशालाबाट मार्सल आर्ट तेक्वान्दो खेल्न सुरु गरेका लिम्बुले २०५१ सालसम्म खेलाडीको रुपमा खेल्दै विभिन्न राष्ट्रमा नेपालको तर्फबाट सहभागिता जनाउँदै आएका थिए ।
त्यसपछि राष्ट्रिय खेलकुद परिषदअन्तर्गत प्रशिक्षकको रुपमा मेची अञ्चल र सगरमाथा अञ्चलमा खेलाडीहरुलाई प्रशिक्षण दिई लिम्बु सफल प्रशिक्षकको परिचय दिन सफल भए । 
यतिमात्र होइन लिम्बुले नेपाल ओलम्पिक कमिटी र नेपाल सरकारले लिम्बुलाई बंगलादेशका तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिलाउनको लागि तिन वर्ष बंगलादेश पठाएको थियो । त्यतिबेला नेपालमा आयोजित आठौं साफ गेममा बंगलादेशको तेक्वान्दो खेलको कोचको रुपमा रहेका लिम्बुसँग प्रशिक्षण लिएका बंगलादेशी खेलाडीहरुले चारवटा पदक ल्याउन सफल बनेका थिए ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्को अनुमतिमा मित्रराष्ट्र भारतको आसाममा पनि दुई महिना प्रशिक्षकको रुपमा गएका थिए । त्यतिबेला पनि आसामा राज्यको तेक्वान्दो टिमलाई भारतको राष्ट्रिय प्रतियोगितामा सातवटा स्वर्णपदक ल्याई टिम प्रथम बनाउन लिम्बुले प्रशिक्षकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तेक्वान्दोका बहुप्रतिभावान लिम्बुले विशाल भारतको आसाम टिमलाई प्रथम स्थान ल्याउन र बंगलादेशमा पनि तेक्वान्दो प्रशिक्षण दिई अन्तर्राष्ट्रिय पदक ल्याउने अवस्थामा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
वास्तवमै तेक्वान्दो खेलका मेरुदण्डका रुपमा रहेका टिकाराम लिम्बु अर्थात टार्जन सुब्बाले ग्रेडिङ कमिटीको प्रमुखको रुपमा अनुभव बटुलिसकेका छन् । लिम्बुले तेक्वान्दोको दुबै विधा पुम्बसे र गेरुगी विधामा अब्बल प्रशिक्षकको रुपमा स्थापित बनेका छन् भने तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षकको लाइसेन्ससमेत प्राप्त गरिसकेका छन् ।
हाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको प्रमु्खको रुपमा कार्यरत रहेका वरिष्ठ प्रशिक्षक लिम्बुले गएको तेह्रौ साग गेममा नेपाली तेक्वान्दो टिमको प्रशिक्षकको रुपमा कुशल भूमिका निर्वाह गरी तेक्वान्दो मार्फत् नेपाललाई सर्वाधिक १२ वटा स्वर्ण पदक ल्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । 
तेक्वान्दो खेलप्रति आफ्नो हिसावले म पूर्णरुपमा सन्तुष्टि छु, तर राजनीतिका कारणले गर्दा खेलकुदमा जति विकास हुनुपर्ने थियो त्यो भने नहुँदा आफूलाई साह्रै दुःख लाग्ने गरेको लिम्बु खोजतलाससँग गुनासो पोख्छन् ।
अरु मुलुकले खेलाडीलाई धेरै नै लगानी गरेका छन् । त्यसको अनुपातमा नेपालले खेलाडीहरुलाई खासै लगानी नगरेको र खेलकुदमा राजनीतिकरण भएकैकारणले सोचेजस्तो खासै उपलब्धी हासिल गर्न नसकेको लिम्बु बताउँछन् । नेपालमा सक्षम, अनुभवी र खुबी भएका खेलाडीहरुलाई राजनीतिका कारण बेवास्था गर्ने परम्परा र आफ्नालाई मात्र काखी च्याप्ने परम्पराले पनि नेपालमा खेलकुदको विकास नभएको प्रशिक्षक लिम्बु खुलेरै बताउँछन् ।