दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन् ।
एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ । उक्त आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको श्रेष्ठको भनाइ छ ।